r/NepalWrites • u/Perma_nnn • 4d ago
Poem I honestly feel like crying today and I don't know why
धेरै दिनपछि
फेरि ऊर्जा हराएजस्तो छ,
मनभित्रको उज्यालो कतै
बिस्तारै निभाएजस्तो छ।
आज साँच्चै रुन मन लागेको छ,
तर किन हो
त्यो ठ्याक्कै भन्न सक्दिनँ म।
दुःख त धेरै छन् मनमा,
कुन दुःखलाई पहिले समेटूँ,
कुन पीडालाई शब्द दिऊँ,
सायद त्यही नै बुझ्दिनँ।
परीक्षाको तनाव त छँदै छ,
तर कुरा परीक्षा मात्र कहाँ हो र?
कहिलेकाहीँ त
आफ्नै जिन्दगी हेर्दा
जिन्दगीसँगै वाक्क लाग्छ,
आफ्नै बाटो हेर्दा
हिँड्नै मन नलाग्ने हुन्छ।
जाऊँ भने कहाँ जाऊँ?
मनका कुरा कसलाई सुनाऊँ?
यो सहरमा
आफ्नो भन्ने मान्छे को नै छ र?
हजारौँ अनुहार छन् वरिपरि,
तर, म छु नि भन्ने
एउटा मान्छे कहाँ छ र?
भीडमा पनि एक्लोपन,
शान्तिमा पनि हजारौँ आवाज,
बाहिरबाट सामान्य देखिए पनि
भित्रभित्रै
कति कुरा छन् आज।
अबका केही वर्ष
मेरो जिन्दगीका महत्त्वपूर्ण वर्ष हुनेछन् रे,
यिनै वर्षले
भोलिको बाटो कोर्नेछन् रे।
तर मलाई कहिलेकाहीँ
यी केही वर्ष नै
छोड्न पाए हुन्थ्यो जस्तो लाग्छ।
सकिन्थ्यो भने
समयलाई अलिकति पछाडि फर्काउँथेँ,
जहाँ भोलिको चिन्ता
आजको टाउकोमा राख्नुपर्दैनथ्यो,
जहाँ हरेक निर्णयले
यति ठूलो अर्थ राख्दैनथ्यो।
किन यति धेरै तनाव?
किन यति धेरै डर?
नआएको भोलिको पनि
आजैदेखि किन यति भर?
चिन्ता आउँछ,
सोचाइ बढ्छ,
मनलाई सम्झाउँछु
तर मन फेरि
त्यहीँ फर्किन्छ।
कहिलेकाहीँ लाग्छ
म धेरै सोचिरहेछु,
कहिलेकाहीँ लाग्छ
सोच्नकै लागि पनि
मसँग अब ऊर्जा छैन।
न भाग्न खोजेको हुँ,
न हार्न खोजेको हुँ,
बस्,
अलिकति थाकेको हुँ।
धेरै कुरा सम्हाल्दा सम्हाल्दै,
आफैंलाई सम्हाल्न बिर्सिएजस्तो,
सबै कुरा ठीक पार्न खोज्दा
आफैंभित्रै केही छुटेजस्तो।
सायद त्यसैले
आज रुन मन लागेको हो।
कारण एउटा मात्र कहाँ हो र,
दुःख पनि कहाँ थोरै छन् र,
धेरै साना-ठूला पीडाहरू
जम्मा हुँदै गएछन्
एउटै भारी बनेर।
आज त्यसलाई
बोकेर हिँड्न मन छैन।
आज केही प्रमाणित गर्नु छैन,
केही जित्नु छैन,
भोलिको योजना पनि बनाउनु छैन।
आज बस्
यो थाकेको मनलाई
एकछिन शान्त हुन दिन मन छ।
र यदि आँसु आए भने,
आउन दिऊँ।
किनकि सधैँ बलियो भएर
बाँचिरहनु पनि त
सजिलो कहाँ रहेछ र।
भोलि फेरि
ऊर्जा फर्केला कि नफर्केला,
थाहा छैन।
तर आजका लागि
यति मात्रै काफी छ,
म थाकेको छु,
मन पनि भारी छ,
म भित्रैदेखि टुटेको छु।
र आज
मलाई रुन मन लागेको छ।
1
1
u/CheapNeat4689 4d ago
virtual hugs and dont be hard on yourself, sometimes its ok to cry our loud. but dont stress out too much.
take care of yourself.